छ्याजालो अनि नमस्कार,
“धीं न्होंर बै ताँ” अर्थात घर भित्रका कुराको अक्टोबर अंकमा यहाँलाई हार्दिक स्वागत छ। अक्टोबर महिनामा घर भित्र के कस्ता गतिविधीहरु भए अनि तमु धीं युके, पाँचौं कार्यसमिती, के कस्ता भावी कार्यक्रमहरु जनसमक्ष ल्याउने तयारीमा जुटेको छ? थाहा पाउन कृपया पढ्नुहोस् “धीं न्होंर बै ताँ”।
“धीं न्होंर बै ताँ” - १०
- ल्होसार मनाउन का लागि नेपाल बाट निम्त्याइने कलाकारहरुको छनोट कार्य सम्पन्न
- रश्मूर बोरो काउन्सिलका मेयरसँग तमु धीं यू के का अध्यक्ष तथा उपाध्यक्षको भेटवार्ता
- बिधान संशोधन मस्यौदा समिती तथा फ्रेंसी पत्रिका प्रकाशन समिती को बैठक बस्यो
- तमु धीं यू के को पाँचौं कार्यसमितीको बैठक सम्पन्न
- अध्यक्षको डायरीबाट
> ल्होसार मनाउन का लागि नेपाल बाट निम्त्याइने कलाकारहरुको छनोट कार्य सम्पन्न
ल्होसार पर्व मनाउनका लागि नेपालबाट निम्त्याइने कलाकारहरुको छनोटका लागि तमु धी यू के ल्होसार संयोजन समिती (ल्होसार कोर्डिनेशन कमिटी) सहितको एक आकस्मिक बैठक यही अक्टोबर ३ तारिक शनिबार अल्डर्शोट स्थित भेटघाट रेस्टुराँको सभाकक्षमा बस्यो। युके बोर्डर एजेन्सी वा इमिग्रेशनको हालको नियम अनुसार कलाकारहरुको भिसा प्रोसेसमा लाग्न सक्ने समयलाई मध्यनजर राखी बसेको उक्त बैठकले यसपाली निम्न लिखित चार जना अतिथी कलाकारहरु ल्याउने निर्णय गर्यो।
१. लोक दोहोरी गायक राजु गुरुङ,
२. लोक दोहोरी गायिका देवी घर्ती मगर
३. गुरुङ गायक धन बहादुर गुरुङ
४. पप स्टार एड्रिअन प्रधान
> रश्मूर बोरो काउन्सिलका मेयरसँग तमु धीं यू के का अध्यक्ष तथा उपाध्यक्षको भेटवार्ता
तमु धीं यू के तथा रश्मूर बोरो काउन्सिल बीच पारस्परिक सम्बन्ध स्थापित गरी सामुदायिक बिकासका कार्यक्रमहरु प्रभावकारी ढंगले परिचालन गर्नका लागि तमु धीं यूकेका अध्यक्ष
सुबसिङ गुरुङ तथा उपाध्यक्ष मुछेत्र गुरुङले अक्टोबर ५ तारिक सोमबार, रश्मूर बोरो काउन्सिलका मेयर, काउन्सिलर रोजर किम्बर सँग उनकै कार्यालयमा भेट गरे। करिब ४५ मिनट लामो भेटवार्ता ज्यादै फलदायी भएको बताउँदै धीँका अध्यक्ष सुबसिङ गुरुङ्ले निम्नलिखित बुँदाहरुमा केन्द्रित रही वार्ता गरिएको जानकारी दिए।
- काउन्सिलले तमु धी यू के सँग मिली एक सेमिनारको आयोजना गर्ने
- स्वास्थ्य, शिक्षा, रोजगारी, Policy (निती नियम), हाउजिङ बेनेफिट, रेक्रिएशन आदी बिषयमा कुरा गर्नका लागि काउन्सिलले स्पिकरहरु वा वक्ताहरु खोज्ने
- ग्रान्ट वा अनुदान (सहायता)
- काउन्सिलमा एउटा लिएजन अफिसर (सम्पर्क अधिकृत) राखिनु पर्ने
- नेपाली समुदायका लागि जग्गा (को क्षेत्र)
- दोभाषे वा इन्टरप्रेटरको ब्यवस्था
> बिधान संशोधन मस्यौदा समिती तथा फ्रेंसी पत्रिका प्रकाशन समिती को बैठक बस्यो।
बिधान संशोधन मस्यौदा समिती तथा फ्रेंसी पत्रिका प्रकाशन समिती को बैठक अक्टोबर १० तारिक शनिबार अल्डर्शोट स्थित भेटघाट रेस्टुराँको सभाकक्षमा बस्यो। तमु धी यू के का प्रमुख सल्लाहाकार तथा बिधान संशोधन समितिका संयोजक डा. सि बि गुरुङ्को संयोजकत्वमा बसेको उक्त बैठकमा सल्लाहकार भक्त गुरुङले बिधान को मस्यौदा प्रस्तुत गरेपछि ब्रिहत छलफल गरी बिधान संशोधन कार्य अन्तिम टुंगो लागेको थियो। संशोधित बिधान अब हाउसको अर्को बैठकमा अनुमोदनका लागि राखिने निर्णय समितिले गर्यो।
यसै गरी फ्रेंसी पत्रिका प्रकाशन समितीका संयोजक तथा सम्पादक रोहित गुरुङ्ले तमु धी यू के को वार्षिक मुख पत्रका रूपमा रहेको फ्रेंसी पत्रिका प्रकाशनको तयारी बारे एक प्रतिवेदन प्रस्तुत गर्दै तयारी अन्तिम चरणमा पुगेको जानकारी गराए।
> तमु धीं यू के को पाँचौं कार्यसमितीको बैठक सम्पन्न
तमु धीं यू केको पाँचौं कार्यसमितीको बैठक यही अक्टोबर २४ तारिक शनिबार मिचेट स्थित आफ्नै तमु भवनमा सम्पन्न भयो। संस्थाका अधयक्ष सुबसिङ गुरुङ्को सभापतित्वमा बसेको उक्त बैठक महसचिव सूर्जे गुरुङले सञ्चालन गरेका थिए। बैठकमा आगामी नोवेम्बर १ तारिक आयोजना गरिने च्यारिटी लन्चको तयारी बारे कार्यक्रम का संयोजक ले. चन्द्र गुरुङले एक रिपोर्ट प्रस्तुत गरेका थिए। उनले युद्धमा वीरगती प्राप्त गरेका शाहीद र उनका परिवार, घाइते तथा अंग भङ्ग भएका वीर योद्धाहरुको सहयोग का लागि स्थापित संस्था "हेल्प फोर हिरोज " तथा तमु धीं यू के को सहयोगार्थ आयोजना गरिएको स्पेसल च्यारिटी लन्च सफल पार्नका लागि सबैलाई अव्हान गरेका थिए। रेडिङ स्थित शेहनाइ ब्याङक्विटिङ स्विट्सको बिशाल हलमा हुन लागेको उक्त कार्यक्रममा ७०० भन्दा बढीको उपस्थिती हुने अपेक्षा राखिएको जानकारी संयोजक गुरुङ्ले दिए।
बैठकमा संस्था का सचिव तथा ल्होसार कोर्डिनेशन कमिटीका कोर्डिनेटर ग्याम गुरुङले आगामी जनवरी २ तारिक २०१० मा तमु ल्होसार मनाउनका लागि तयार पारिएको योजना खाका प्रस्तुत गरेका थिए। उनले यसपालीको ल्होसारमा नेपाल बाट चार जना ख्याती प्राप्त कलाकारहरु लोक दोहोरी गायक राजु गुरुङ, दोहोरी गायिका देवी घर्ती मगर, गायक धन बहादुर गुरुङ र पप गायक एड्रिअन प्रधान(1974 AD ) ल्याइने भएकोले सदाको भन्दा पृथक र भव्य रुपमा यसपालीको ल्होसार मनाइने योजना रहेको जानकारी गराए। कलाकारहरुको भिसा प्रोसेसका लागि आवश्यक सम्पूर्ण तयारी भइसकेको जानकारी गराउँदै यस कार्यमा सहयोग पुर्याउनुहुने उपाध्यक्ष मुछेत्र गुरुङ, कोषाध्यक्ष दिलिप गुरुङ तथा लण्डन एकाइका चेयरम्यान चित्र बहादुर गुरुङलाई उनले धन्यवाद ज्ञापन गरेका थिए।
यसै क्रममा ल्होसार मनाउनका लागी कलाकार चयन गर्ने प्रकृयामा पारदर्शिता र समावेशिकरणको नियमलाई ब्यवहारिक रूपमा अवलम्बन गर्न कार्यसमितीका सदस्यहरुबाट आएको सुझावलाई ध्यानमा राखी आगामी दिनहरुमा ल्होसार कलाकार सेलेक्शन कमिटिमा महिला, युवा तथा स्थानिय कलाकारका तर्फबाट पनि प्रतिनिधित्व गराउने कुरा बैठकले पारित गर्यो। यसका लागि युवाहरुका तर्फ बाट प्रतिम गुरुङ, बिभा गुरुङ, महिलाहरुका तर्फबाट पुष्पा गुरुङ र स्थानिय कलाकारका तर्फ बाट नरजङ गुरुङलाई मनोनित गरिएको छ।
लण्डन एकाइका चेयरम्यान चित्र बहादुर गुरुङले माछापुछ्रे हिमालको कलात्मक तस्वीर तमु धींका लागि अध्यक्ष सुबसिङ गुरुङ्लाई हस्तन्तरण गरेका थिए। यसैगरी अधयक्ष सुबसिङ
गुरुङले नेपाली मेला २००९ मा राफल ड्रव प्रथम पुरस्कार, बि एम डब्लु मिनी कुपर कार विजेता सुश्री निया पुर्जालाई कारको साँचो हस्तान्तरण गरेका थिए। नानी नियालाई प्रथम पुरस्कार परेको खबरले आफुहरु दंग परेको अनुभव सुनाउँदै निया का पिता याम पुर्जाले तमु धी यूके ले फन्ड रेजिङका लागि च्यारिटेबल इभेन्टहरुको आयोजना गरेकोमा धन्यवाद ज्ञापन गर्दै ५०१ पाउन्डको चेक अध्यक्ष सुबसिङ गुरुङ्लाई हस्तान्तरण गरेका थिए।
बैठकको अन्तमा त्यस दिनका लागि स्वदिष्ट भोजन उपलब्ध गराउनुहुने सदस्य हरिकाजी गुरुङ तथा बिष्णु गुरुङ्लाई महासचिव सूर्जे गुरुङ्ले विशेष धन्यवाद ज्ञापन गर्दै अर्को बैठक नोवेम्बर ७ तारिक शनिवार प्लमस्टेडमा हुने जानकारी गराए।
> अध्यक्षको डायरीबाट
२५ अक्टोबर २००९: बिहान मधेशी नेपाली समाज यूके द्वारा वेम्ब्ली को लण्डन थेम्स कलेज मा आयोजित छठ पूजामा अध्यक्ष सहभागी
२५ अक्टोबर २००९: अपरान्ह( दिउँसो) पासा पुच गुठी यू के द्वारा ह्यामरस्मिथ टाउन हल, लण्डनमा आयोजित म्ह: पूजामा अध्यक्ष सहभागी







