You are here: Home

धीं न्होंर बै ताँ – १६

E-mail Print PDF

बसन्त ऋतुको आगमन भइसकेको प्रत्याभूति दिंदै रुखमा पालुवा चढे पनि रंगीबिरंगी फूलहरु ढकमक्क फुले पनि बेलायतमा यसपाली समर सिजनको आगमनको संकेत दिलाउने पारिलो घाम लाग्न अझै सकेको छैन। सनबैथ(sunbathe) गर्ने बानी परेका बेलायतीहरुलाई चिसो हावाको सिरेटो ले केही असर पारिरहेकोछ। तर त्यसभन्दा बढी असर पारेको छ यसपालिको बेलायती संसदिय चुनावको लहर ले। मौसम जे जस्तो भए पनि अहिले चुनावी सरगर्मी अवश्य बढेको छ। राजनैतीक नेताहरुको आ-आफ्नो पार्टी तथा उम्मेदवारको प्रचार प्रसार गर्ने होडबाजी आज समाप्त भए पनि भोलिको चुनावले कुन नतिजा निकाल्ने हो? सबैको मनमा कौतुहलता रहेको छ। समग्रमा हेर्दा यहाँको चुनावी माहौल नेपालको भन्दा ज्यादै फरक पाइन्छ। बिकसित देशको पारै अर्को छ। सबथोक ब्यवस्थित ढंगले हुने गर्दछ। उता हाम्रो देश नेपालको  स्थिती भने अर्कै छ। स्वदेशको हालत संझिएर हो कि आज यो “ धीं न्होंर बै ताँ ” टाईप गर्न मेरो औंला चल्न मानिरहेको छैन।

१० वर्षे द्वन्दको अन्त्य भएर देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भए पछि मातृभूमीको मुहार फेरिएला, समय मै संविधान बन्ला अनि नयाँ नेपालको सिर्जना होला भन्ने आम नेपालीको सपनामा अहिले पानी फेरिएको छ। संविधान लेखन जस्तो महत्वपूर्ण कार्य समयमै पूरा गर्नका लागि राजनैतिक सहमति खोज्नुको सट्टा अनिश्चितकालिन आन्दोलनमा उत्रेको माओवादी पार्टी र सत्तामोहमा लिप्त हालको सरकारको ‘मेरो गोरुको बारै टक्का’ भने जस्तो आ-आफ्नै अडान र हठवादी निती देख्दा अचम्म लाग्छ। प्रवासमा रहेर हर दिन स्ञ्चार माध्यमहरुमा स्वदेशको बन्द, हड्ताल, आन्दोलन आदिको खबर सुन्दा र देख्दाको पीडा मानसिक रूपमा, भोग्नु भन्दा कम  नहुँदोरहेछ। देश दुख्दा प्रवासी मन पनि उत्तिकै दुख्दो रहेछ। त्यसैले यतिबेला मलाई साह्रै मन पर्ने एउटा राष्ट्रिय गीतको याद आयो।

“छाडेर काम सारा एक काम रोजी रहेछु,

यो देशमा एउटा मानिस् खोजी रहेछु ।”

गायक शिशिर योगीले गाउनुभएको यस गीतका रचनाकार तथा संगीतकार डा.विश्वनाथ ‘प्रेम’ ले शायद यस्तै पिडाबोध गरेर नै यो मार्मिक गीतको रचना गर्नुभएको होला। उनले गीतमा भनेका छन,

“देखे कहीं बताए, हे राष्ट्रका बटुही,

 रक्षार्थ जन्मिएका छन कि सपूत कोही?”

तर विडम्बना हरे, हामी प्रवासी बटुवाहरुको नेपाली भइकन पनि वास्तविक नेपाली नागरिकको अधिकार कहाँ छ र? स्वदेशको जति माया लागे पनि दोहोरो नागरिकता नपाईएको अवस्थामा हामी “न घरका न घाटका” भन्ने स्थितिमा छैनौं र? यस्तो अवस्थामा देशको रक्षार्थ जन्मिएका सपूत कसरी खोज्ने होला हामीले? यो प्रश्न मेरो मनमा उब्जिएकोले मैले तपाईं सामु राखें।

छ्याजालो, नमस्कार अनि न्यानो अभिवादन, तमु धीं यूकेको वेबसाईटमा पाल्नुहुने सम्पूर्ण महानुभावहरुमा यो पुष्पाको । आज अलि बहकिएर धेरै गन्थन लेख्न पुगें। “धी न्होंर बै ताँ” (“घर भित्रका कुरा”) मा घर बाहिरको कुरा लेखें। यसमा म क्षमा चाहन्छु। हुन त घर बाहिर देश मै आशान्तिको आगो सल्किए पछि घरलाई असर पर्ने नै भयो। भनिन्छ  बन डढेको देख्छन सबैले तर मन डढेको देख्दैनन कसैले। त्यसैले मनका कुरा ब्यक्त गर्नै पर्छ। तर धन्दा नमान्नुहोस्। हाम्रो घर “तमु धीं यूके” भित्रको वातावरण् स्वच्छ छ । प्रकृतिको हरियाली जस्तै सबैको मनै रमाउने जमघट अनि युवाहरुलाई जुर्मुर्‍याउने कार्यक्रमको तयारीमा जुटिरहेको छ तमु धीं यूके। घर भित्रका कुरा थाह पाउन पढ्नुहोस् मासिक बुलेटिन “धीं न्होंर बै ताँ”।                                    

 

 

 धीं न्होंर बै ताँ – १६

  • सफलतापूर्वक सम्पन्न भयो सोल्टिनी नाइट 
  • तमु धींको मासिक बैठक सम्पन्न

 

सफलतापूर्वक सम्पन्न भयो सोल्टिनी नाइट 

नेपाली नयाँ वर्ष २०६७ को उपलक्षमा तमु धीं यूकेका युथहरुले गत अप्रिल १० तारिक साँझ अल्डर्शोटको प्रिन्सेस हलमा सोल्टिनी नाइट सफलता पूर्वक  सम्पन्न गर्‍यो। कार्यक्रमको उद्देश्य शुभकामना आदान प्रदान र मनोरन्जन गर्ने मात्र नभई बेलायती मिश्रित समाजमा हुर्केका तमु युथ हरुले बिर्सन लागेको नेपाली परम्परागत  सोल्टी सोल्टिनिको साईनो प्रति सचेत गराउंदै समाजमा साकारात्मक सन्देश प्रदान गर्नु रहेको थियो। उक्त कार्यक्रम बाट उठेको रकम युथहरुले स्वदेशमा रहेका असहाय बालबालिकाहरुको हितमा लगाउने निर्णय गरेका छन।

जेपीटी रकर्ज, नट्टु, पेपरेज, लास्ट मिनेट फिट डिचेन, जुड र प्यारालल सोसाइटीले ५ घण्टा लगातार लाइभ संगीत प्रस्तुत गरेका थिए भने आइकोनिस समूहको हिपहप डान्स निकै आकर्षक थियो। पछि डिजे विशालको प्रस्तुतिमा तन्नेरीहरु राति १ बजेसम्म रमाएका थिए। कार्यक्रममा तमु युथहरुलाई मनोरन्जनका क्रममा अप्ठ्यारो नपर्ने गरी अभिभावकहरुका लागि छुट्टै बस्ने ब्यवस्था मिलाइएको थियो। तन्नेरीहरु अभिभावक र पहुना लगायत झन्डै ४०० जना दर्शकहरुको उपस्थिती रहेको थियो।

ओमकार गुरुङ (ग्रीनफोर्ड), प्रतिम गुरुङ (क्याम्बर्ली), अञ्जु, रीना र निशा गुरुङ (प्लमस्टिड), आशिक गुरुङ (वेम्ब्ली), आशिस गुरुङ (अल्डरशोट), अनिता गुरुङ (ननिटन), प्रणय र सौगात गुरुङ (फोकस्टोन)को संयोजनमा भएको सो कार्यक्रम, अनिता र बिशाल गुरुङले सञ्चालन गरेका थिए।

तमु धी यू के को मासिक बैठक सम्पन्न।

तमु धीं यूकेको मासिकबैठक गत अप्रिल १० तारिक, अल्डरशट स्थित भेटघाट रेस्टुराँमा सम्पन्न भयो। संस्थाको अध्यक्ष सुबसिङ गुरुङ्को सभापतित्वमा, महासचिव सूर्जे गुरुङ्ले सञ्चालन गर्नुभएको सो बैठक २ चरणमा बिभाजित गरिएको थियो। पहिलो चरणमा गत १९ मार्चको बैठकले पारित गरे अनुसार तमु धीं यू के पाँचौँ कार्यसमितिको बिगत एक वर्षको कार्यबारे समिक्षा गर्ने र अझै परिमार्जित ढंगले अगाडि बढन अपनाइनुपर्ने रणनिती तथा भावी कार्ययोजना तर्जुमा गर्न का लागि गठित बिशेष समितीको बैठक बसेको थियो।

बैठकमा सल्लहाकार महेश गुरुङ ले संस्थाको हितका लागि ब्यक्ती सर्बोपरी नभई संस्था सर्वोपरी ठानी सबैले एक भई काम गर्नुपर्ने धारणा ब्यक्त गर्नुभएको थियो भने भू. पू. अध्यक्ष डम्मर घलेले संस्थालाई प्रभावकारी ढंगले अगाडि बढाउन,नितिनियमलाई कडाइका साथ सबैले पालना गर्न पर्ने धारणा राख्दै संस्थाको वेबसाईट संसार भरी छरिएका सबैले हेर्ने हुँदा समयमा अप्डेट गरी सही सूचना प्रवाह गर्नु पर्ने कुरा ब्यक्त गर्नु भयो। यसैगरी सल्लाहकारहरु मे. खुशीमान गुरुङ, मिन प्रसाद गुरुङ (संस्थापक अध्यक्ष), हितमान गुरुङ, कमल गुरुङ  उपाध्यक्ष मुछेत्र गुरुङ तथा अध्यक्ष सुबसिङले पनि आ-आफ्ना मन्तब्य राख्नुभएको थियो। यसै गरी कार्यसमितिकी सदस्य पुष्पा गुरुङले समाज वा संघ संस्थाका हरेक कार्य सफल पार्न नारिको पनि महत्वपूर्ण भूमिका रहने हुँदा समाजमा अपरिचित पात्रका रूपमा रहेका महिला हरुलाई संस्थाको मूल्धारमा ल्याउन प्रोत्साहित गर्न पर्ने आवश्यकता औँल्याइन।

त्यसपछि दोश्रो चणको बैठकमा तमु धी को अर्को महत्वपूर्ण कार्यक्रम, गोर्खा कपको तयारी बारे खेल्कूद सचिव बालकृष्ण गुरुङ्ले विशष रिपोर्ट प्रस्तुत गर्दै यस पाली गोर्खा कपमा गुणस्तरीय खेल खेलाई बिगतको भन्दा अझ राम्रो उपलब्धी हासिल गर्ने योजना रहेको जानकारी दिनुभयो। यस वर्ष भेटरन र नन भेटरन गरी जम्मा ४० टिम मात्र खेलाइने र सहभागी टिम दर्ता शुल्क £२०० गर्ने निर्णय बैठकले गर्‍यो। उक्त अवसरमा सल्लाहकार क्या. रि. ईन्द्र गुरुङले खेलकूद कार्यक्रम सञ्चालन गर्दा ध्यान दिनु पर्ने टेक्निकल कुराहरु बारे सुझाव दिनुभएको थियो।

उक्त दिनको बैठकले सल्लाहकार  कमल गुरुङ्को नेत्रित्वमा नयाँ हाउजिङ कमिटी गठन गर्‍यो। कमिटिमा क्या रि कृष्ण गुरुङ(सदस्य), सचिव ज्ञाम गुरुङ - सदस्य, कोषाध्यक्ष दिलिप गुरुङ-सदस्य, सह   कोषाध्यक्ष कुमार गुरुङ-सदस्य, मे रि डम्मर घले- सल्लाहकार, मे रि लाल बहादुर गुरुङ सल्लाहकार (कन्फर्म हुन बाँकी), क्या रि हितमान गुरुङ - सल्लाहकार का रूपमा चयन हुनुभएको छ।

Comments (0)Add Comment

Write comment
You must be logged in to post a comment. Please register if you do not have an account yet.

busy