गोर्खा कपको अन्तिम तयारीका लागि तमु धीं यूकेको बैठक गत शनिबार २२ मे का दिन लण्डन स्थित हार्रोे लेजर सेन्टरमा सम्पन्न भयो। संस्थाका अध्यक्ष सुबसिङ गुरुङको सभापतित्वमा, सचिव ज्ञाम गुरुङले सञ्चालन गर्नुभएको सो बैठकमा संस्थाका खेलकूद सचिव तथा गोर्खा कपका संयोजक क्या. रि. बालकृष्ण गुरुङले गोर्खा कपको तयारी बारे विस्त्रित जानकारी गराउनु भयो।
बेलायतमा नेपालीहरुको जनसंख्या बढेकोले गत वर्ष भन्दा यस वर्ष गोर्खा कपमा टिम एन्ट्रीको चाप अपेक्षा गरिए भन्दा बढी भएको बताउँदै यसलाई आयोजक कमिटीले एउटा प्रोत्साहन (encouragement) को रूपमा लिई खेलाडीहरुको गोर्खा कप प्रतिको रुचीलाई ध्यानमा राखेर यस पालीको नाइन-ए-साइड फुट्बल खेलमा भेटरन तर्फ टिम संख्या 8 देखी 16 ,र ननभेटरन तर्फ ३२ देखि 48 सम्म बढाइएको जानकारी दिनुभयो।
उक्त बैठकमा पर्यवेक्षक, स्ञ्चारकर्मी, खेलाडीहरु तथा जनसाधारणको उपस्थितीमा गोर्खा कपको टिम ड्रव गरिएको थियो। बेलायतवासी नेपाली जनसमुदाय माझ एउटा कुम्भ मेला सरह लोकप्रियता कमाएको गोर्खा कप फूटबल हेर्न वर्षेनी हजारौँ मनिसहरु अल्डरशट स्थित क्वीन्स एभिन्युको मैदानमा उर्लने गर्छन्। गत वर्ष पन्द्र हजार (15,000) भन्दा बढी खेलप्रेमी दर्शकहरुलाई गोर्खा कपमा भेला गराउन सफल तमु धीं यूकेले यसपाली दर्शकहरुको संख्या अझ बढ्न सक्ने अनुमान लगाएको छ।
गोर्खा कपको लागि आवश्यक सम्पूर्ण तयारी भइसकेको जानकारी दिंदै संयोजक बालकृष्ण गुरुङले कार्यसमितीका पदाधिकारी, सदस्यहरु तथा सल्लाहकार समितीका सदस्यहरुलाई काम को जिम्मेवारी सुम्पिनुभयो। वहाँले गोर्खा कप सफल पार्नका लागि सबै जना कम्मर कसेर लाग्न पर्ने बताँउदै सबैले आ-आफ्नो जिम्मेवारी पूर्ण रूपमा निभाएर सहयोग गरिदिन अनुरोध गर्नुभयो।
सदा झैँ यस पाली पनि बि. एफ. बि. एस. रेडियोबाट प्रत्यक्ष प्रसारण गरिने गोर्खा कपमा यो वर्ष अन्य थप आकर्षणहरु पनि रहेको कुरा बताउँदै मौसमले साथ दिएमा पाराशुट जम्प प्रदर्शन गरिने र हालैमा बुद्ध जयन्तीको उपलक्ष्यमा तमु धीं यूके लण्डन एकाइले आयोजना गरेको अन्तर समाज लोक न्रित्य प्रतियोगिताका विजयी कलाकारहरुबाट लोकन्रित्य पनि प्रस्तुत गरिने कुरा आयोजक कमिटीले जनाएको छ।
बैठकको अधिकांश समय गोर्खा कपकै तयारी बिषयमा केन्द्रित रहेकोले अन्य एजेन्डामा सामान्य छलफल मात्र गरिएको थियो। हाउजिङ कमिटीका संयोजक तथा सल्लाहकार कमल गुरुङले तमु भवन (मिचेट)को मर्मत सम्हार कार्य तथा कार पार्क निर्माण प्रगति बारे छोटो जानकारी प्रस्तुत गर्नुभएको थियो। बैठकमा संस्थापक अध्यक्ष मिन प्रसाद गुरुङ, सल्लाहकारहरु: डा. सि बि गुरुङ, (भू. पू. प्र. अ.) महेश गुरुङ, मे. रि. खुशिमान गुरुङ, कमल गुरुङ लगायतले आ-आफ्नो सुझाव पेश गर्नुभएको थियो।
तमु धी यूके एक जातिय संस्था भए पनि यसले बेलायतमा रहेका सम्पूर्ण नेपालीहरुमा आपसी सहिष्णुता र सदभाव बढाउंदै यूवा जोश जांगरलाई खेल कूदमा लगाई उनिहरुको खेल कौशल प्रदर्शन गर्न र त्यसमा निखार ल्याउन यूवाहरुका लागि एउटा सुनौलो अवसर सिर्जना गरेको छ। यसका लागि तमु धीं यू के पाँ चौं कार्यसमितीका सम्पूर्ण सदस्य हरु र सल्लाहकारहरु मात्र नभई युथहरु समेत एक भई लागेका छन।
बालबालिका देखि व्रिद्धव्रिद्धा सम्म सबैको भेटघाटको थलो, गोर्खा कपमा पहिलो पटक तमु धीं युथ टिमले चटपटे स्टल राखी दर्शकहरुलाई नेपाली चटपटेको स्वाद चखाउन तत्पर छन। उनिहरु भन्छन, " गोर्खा कप हेर्नै पर्छ, चटपटे खानै पर्छ।" त्यसैले आउनुहोस् तपाईं पनि तपाईंको ब्यस्ततालाई एकै छिन थाँती राखी फूटबल खेल को आनन्द लिनुहोस। आफन्त र साथी भाई सँग भेट्घाट गर्नुहोस्। एकै दिन भए पनि रमाइलो गर्नुहोस् एक अर्कामा माया साट्नुहोस्।








